केरुङसम्म चीनले खोल्यो सडक, अब भारी उद्धार उपकरण प्रभावित क्षेत्रमा पुग्ने

2.2k Shares

काठमाडौं । चीनले नेपाल–चीन सीमास्थित केरुङ नाकासम्म पुग्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याएको छ। सडक खुलेसँगै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भारी उद्धार उपकरण पुर्‍याउन सहज भएको छ।

गत भदौ १० गते आएको हिमपहिरो तथा त्यसपछि आएको बाढी र पहिरोका कारण केरुङ नाकातर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ को विभिन्न भागमा क्षति पुगेको थियो। सडक अवरुद्ध भएपछि उद्धार टोलीलाई प्रभावित क्षेत्रसम्म पुग्न कठिनाइ हुँदै आएको थियो।

चिनियाँ उद्धार टोलीले चौबीसै घण्टा काम गरेर सडकको क्षतिग्रस्त अन्तिम खण्डमा अस्थायी सडक निर्माण गरेपछि बुधबारदेखि ठूला सवारीसाधन तथा भारी उपकरण प्रभावित क्षेत्रसम्म पुग्न थालेका हुन्।

यसअघि सडकमार्ग अवरुद्ध हुँदा उद्धार सामग्री र उपकरण हवाई माध्यमबाट प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने अवस्था थियो। सडक सञ्चालनमा आएपछि एक्स्काभेटरलगायतका ठूला मेसिनलाई विपद्को केन्द्रसम्म पुर्‍याएर खोज तथा उद्धार र भग्नावशेष हटाउने कामलाई तीव्रता दिन सकिने भएको छ।

चिनियाँ अधिकारीका अनुसार सडक पुनः सञ्चालनका लागि करिब ७ सय उद्धारकर्मी तथा ठूलो संख्यामा मेसिन परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा दुई हजारभन्दा बढी उद्धारकर्मी खोज तथा उद्धारमा खटिएका छन्।

भारी उपकरण प्रभावित क्षेत्रसम्म पुगेपछि गहिरो माटो र भग्नावशेषमा पुरिएका मानिसको खोजीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। उद्धार टोलीले जीवन पत्ता लगाउने उपकरण, ड्रोन तथा अन्य प्रविधिको प्रयोग गर्दै खोजी गरिरहेका छन्।

यद्यपि प्रभावित क्षेत्रमा अझै पनि भारी वर्षा, पहिरो र अन्य जोखिम कायमै रहेकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। सडक तथा सञ्चार पूर्वाधारमा भएको क्षतिका कारण उद्धार तथा राहत सामग्री पुर्‍याउन समस्या भइरहेको थियो।

केरुङ नाका चीन र नेपालबीचको महत्वपूर्ण व्यापारिक तथा आवागमन मार्गसमेत हो। सडक पुनः सञ्चालनसँगै उद्धार तथा राहत कार्यमा मात्र नभई सीमावर्ती क्षेत्रमा आवश्यक सामग्रीको आपूर्तिसमेत सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार