मसानघाटको सत्तलबाट आफ्नै भवनमा सर्दै मालढुङ्गाका प्रहरी

1.5k Shares

बागलुङ । बागलुङ बजारको प्रवेशद्वार मालढुङ्गामा प्रहरी चौकीको नयाँ भवन निर्माण हुने भएको छ । भवन अभावमा मसानघाटको सत्तलमा बसेर नागरिकको सुरक्षा दिँदै आएका प्रहरी अब आफ्नै भवनमा बस्न पाउने भएका हुन् ।

बागलुङ नगरपालिका र नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बीच भएको सम्झौताअनुसार इस्कोनको स्वामित्वमा मालढुङ्गामा रहेको जग्गामा प्रहरी चौकीको भवन निर्माण गरिने भएको हो ।

भवन निर्माणका लागि बागलुङ नगरपालिका–१, मालढुङ्गा खुदुर्केमा रहेको इस्कोनको जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भएको छ । उक्त जग्गामा प्रहरी चौकी निर्माण गरेबापत नगरपालिकाले इस्कोनलाई मासिक एक हजार रुपियाँ भाडा बुझाउनेछ ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रहरी चौकी भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । “गण्डकी प्रदेश सरकारबाट एक करोड रुपियाँ विनियोजन भएको छ । यो नगरपालिकाले नै बनाउने हो, इस्कोनको भवनजस्तै आकर्षक बन्छ,” उहाँले भन्नुभयो ।

प्रहरी चौकी निर्माणका लागि जग्गा प्रयोग गर्ने सम्बन्धमा इस्कोनका तर्फबाट अध्यक्ष प्रदीप भण्डारी र नगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रहरी उपरीक्षक फणिन्द्रप्रसाई, मालपोत कार्यालय बागलुङका प्रमुख सुरेश ढकाललगायतको रोहबरमा भएको हो ।

सम्झौताअनुसार इस्कोनको स्वामित्वमा रहेका कित्ता नम्बर ८०६, ८०७ र ८०८ मध्ये मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी पुल, मालढुङ्गाबाट १५ मिटर दायाँतर्फ ६ मिटर सेटब्याक छाडेर त्यसको उत्तरतर्फको भागमा प्रहरी चौकी निर्माण गरिनेछ ।

भवन निर्माण हुने क्षेत्रमा पश्चिमतर्फ ३० फिट मोहडा र पछाडितर्फ कालीगण्डकी नदीको अधिकार क्षेत्र तथा सार्वजनिक शौचालयको पेटीबाट २२ फिट जग्गा छाडिनेछ । त्यसपछि बाँकी रहने चारकिल्लाभित्रको जग्गामा प्रहरी चौकी भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

चौकी निर्माणका लागि सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरासँग थप बजेट माग गरी प्रस्ताव पेस गरिने भएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षित र व्यवस्थित प्रहरी चौकी निर्माण गरिने नगरपालिकाले जनाएको छ । मालढुङ्गामा आफ्नै भवन नहुँदा प्रहरी कर्मचारीले कालीगण्डकी नदी किनारमा रहेको जीर्ण तथा जोखिमपूर्ण सत्तलमा कष्टकर अवस्थामा रात बिताउँदै आएका छन् ।

सम्बन्धित समाचार