काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले २७ टन राहत सामग्री नेपाल ल्याएको छ ।
सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
बाढीको लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि सीएफआरडीको नेपाल कार्यालयले आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा अवस्था मूल्याङ्कन तथा राहत वितरण सुरु गरेको जनाएको छ ।

पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ वटा पाल, एक हजार कम्बल, एक हजार न्यानो कपासका कोट, एक हजार आपत्कालीन मानवीय राहत बाकस र छ हजार मेडिकल प्याकिङ ब्याग रहेका छन् ।
करिब २७ टन तौलका यी राहत सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ । नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयमा राहत सामग्री रसुवा बाढी प्रभावित क्षेत्रमा पठाइनेछ ।
यसअघि पनि सीएफआरडीले नुवाकोट क्षेत्रमा १४ वटा पाल, पाँच सय खाद्यान्न प्याकेज, पाँच सय परिवारका लागि जीवनयापन सामग्री तथा पाँच हजार सौर्य बत्ती उपलब्ध गराउने काम अघि बढाइसकेको छ । खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायतका सामग्री रहेका छन् ।

प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग जारी राख्ने सीएफआरडीले जनाएको छ । राहत सामग्री जुटाउन हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुईलगायत चिनियाँ उद्यम तथा सहयोगी संस्थाले योगदान गरेका छन् ।
नेपालमा सीएफआरडीको मानवीय सहकार्य यसअघि पनि हुँदै आएको छ । २०७२ सालको भूकम्पपछि आपत्कालीन उद्धार तथा पुनर्निर्माणबाट सुरु भएको संस्थाको सहयोग समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी, कृषि विकास र विपद् व्यवस्थापनसम्म विस्तार भएको छ ।
संस्थाले कोभिड–१९ महामारी तथा जाजरकोट, सिन्धुपाल्चोक र गोरखाका विभिन्न विपत्तिमा पनि सहयोग गरेको जनाएको छ ।