काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन्। रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारको प्रगतिबारे जानकारी लिन, बेपत्ताका परिवारसँग भेट गर्न र नेपाल सरकारका अधिकारीसँग छलफल गर्न उनी नेपाल आएका हुन्।
रसुवामा आएको बाढीपहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका विषयमा विदेशमन्त्री चोले नेपाली अधिकारीसँग जानकारी लिने बताइएको छ।
नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा बाढी तथा पहिरो प्रभावित क्षेत्रको राहत, उद्धार र पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।
त्यसैगरी, नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा विपद्का समयमा समन्वय बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।
दक्षिण कोरियाका विदेशमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। साथै, रसुवा बाढीमा बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारमा दक्षिण कोरियाको चासो र सहयोगलाई समेत भ्रमणले प्राथमिकता दिने अपेक्षा गरिएको छ।