बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षति

1.2k Shares

काठमाडौँ । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणमा करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

विभागका अनुसार सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठवटा आयोजना पनि बाढीबाट प्रभावित भएका छन्। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने जारी रहेको विभागले जनाएको छ।

वैकल्पिक व्यवस्थाबाट खानेपानी आपूर्ति

खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल पानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग, सेवा पुनः सञ्चालन तथा क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागका महानिर्देशक कमलराज श्रेष्ठले बताउनुभयो।

विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा दैनिक करिब पाँच लाख लिटर पानी वितरण गर्न १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। त्यस्तै, एक एचपी क्षमताका सातवटा पम्प सञ्चालन गरी बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्यांकरमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा पानी वितरण भइरहेको विभागले जनाएको छ।

४१ किलोमिटरभन्दा बढी पाइप तयारीमा

त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी प्रभावित क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्री व्यवस्थापन गरिएको छ। विभागका अनुसार दुई एचपी र एक एचपी क्षमताका गरी १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्यांकी तथा करिब ४१.१ किलोमिटर एचडीपीई पाइप तयारी अवस्थामा राखिएको छ।

उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित पानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ।

विभागले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको काम पनि अघि बढाइएको जनाएको छ। क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

सम्बन्धित समाचार