काठमाडौं । रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङबाट दुई वटा शव फेला परेका छन् । आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागमा दुई वटा शव फेला परेका हुन् । शवको पहिचान भने भइसकेको छैन ।
अधिकारीले सुरुङको भित्री भागबाट शव निकालिएको जानकारी दिए । सोही सुरुङबाट शनिबार एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो ।
चिनियाँ नागरिकलाई सुरुङभित्र करिब २२५ मिटरको दूरीबाट उद्धार गरिएको थियो । त्यसपछि पनि सुरुङमा खोजी कार्य जारी राखिएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य भइरहेको हो । बाढी आएको आइतबार १२ दिन पुगेको छ ।
आयोजनामा थप बेपत्ता व्यक्तिको खोजी भइरहेको र फेला परेका शवको पहिचान तथा उद्धार प्रक्रिया अघि बढाइने जनाइएको छ ।