अमेरिका–इरान युद्धका कारण खाडीको समुद्री वातावरणमा तेल प्रदूषणको खतरा

3.1k Shares

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धका कारण खाडी क्षेत्रमा तेल प्रदूषणको जोखिम बढ्दै गएको छ। युद्धका क्रममा तेल ट्यांकर तथा अन्य पानीजहाजमाथि हुने आक्रमण र तेल चुहावटका घटनाले समुद्री वातावरणमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको हो।

खाडी क्षेत्र हुँदै ठूलो परिमाणमा पेट्रोलियम पदार्थ ओसारपसार हुने भएकाले युद्धका कारण समुद्री यातायात प्रभावित हुँदा तेल चुहावटको जोखिमसमेत बढेको छ। पछिल्ला केही सातामा खाडी तथा वरपरका समुद्री क्षेत्रमा तेल प्रदूषणका घटना देखिएका छन्।

विशेषगरी स्ट्रेट अफ होर्मुज आसपासमा जहाजमाथि आक्रमण, क्षति तथा आवागमनमा आएको अवरोधले समुद्री पारिस्थितिक प्रणालीमाथि थप दबाब सिर्जना गरेको छ। इरानले समेत खाडी क्षेत्रमा दशकौँदेखि भइरहेको तेल प्रदूषणले समुद्री पारिस्थितिक प्रणालीमा गम्भीर क्षति पुगेको दाबी गरेको छ।

तेल समुद्रमा फैलिँदा माछा, समुद्री जीव तथा तटीय क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्छ। यसले समुद्री जैविक विविधता, माछापालन तथा तटीय समुदायको जीविकोपार्जनमा समेत दीर्घकालीन प्रभाव पार्ने जोखिम हुन्छ।

युद्धका कारण स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजको आवागमनमा ठूलो गिरावट आएको छ। यस क्षेत्रबाट विश्वको तेल आपूर्तिको ठूलो हिस्सा हुने भएकाले समुद्री सुरक्षा मात्र नभई ऊर्जा आपूर्ति र वातावरणीय सुरक्षासमेत चुनौतीमा परेको छ।

सम्बन्धित पक्षले युद्धका क्रममा समुद्री वातावरणमा थप क्षति हुन नदिन तेल चुहावट नियन्त्रण, प्रदूषण सफाइ र समुद्री पारिस्थितिक प्रणालीको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।

 
 
 
सम्बन्धित समाचार