काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै खसेको पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको छ । जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत भोर्ले बजारनजिकै बुधबार साँझ करिब ५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बिहीबार बिहान करिब १० बजे पहिरो हटाइएपछि झण्डै १७ घण्टादेखि सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
पहिरो पन्छाउन बिहीबार बिहानैदेखि सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रु तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधन बाटोमै रोकिएका थिए ।
नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेँसी र धुन्चे जोड्ने मुख्य सडक बाढी तथा पहिरोका कारण अवरुद्ध भएपछि जिरो–भोर्ले–पार्च्याङ सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।
मुख्य सडक अवरुद्ध रहेकाले यही वैकल्पिक मार्गबाट आवतजावत गर्ने सवारीको चाप बढेको छ । त्यसैक्रममा भोर्ले बजारनजिकै पहिरो खसेपछि काठमाडौं तथा नुवाकोट हुँदै धुन्चे जाने र धुन्चेबाट काठमाडौं फर्कने यात्रु बाटोमै अलपत्र परेका थिए ।
रसुवामा बाढीपहिरोका कारण सडक सञ्जाल प्रभावित भइरहेका बेला राहत सामग्री बोकेर जिल्ला पुगेका सवारीसाधनसमेत पहिरोका कारण रोकिएका थिए । पहिरो हटाएर सडक सञ्चालनमा आएपछि ती सवारीसाधन पनि गन्तव्यतर्फ अघि बढेका छन् ।
तर, जिल्लाका विभिन्न सडकखण्डमा बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ ।