ब्रिक्स सम्मेलनअघि नयाँदिल्लीमा विश्व नेताको जमघट, पुटिन भारत पुगे

2k Shares

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनका लागि विश्व नेताहरू भारत पुग्ने क्रम सुरु भएको छ। यही क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार नयाँदिल्ली पुगेका छन्।

भारतले आयोजना गर्ने ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीस्थित भारत मण्डपमा हुँदैछ। भारतले सन् २०२६ का लागि ब्रिक्सको अध्यक्षता गरिरहेको छ।

पुटिनलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय अधिकारीहरूले स्वागत गरेका थिए। उनको स्वागतका लागि भारतका केन्द्रीय विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंह विमानस्थल पुगेका थिए।

सम्मेलनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत ब्रिक्स शिखर सम्मेलनका लागि विश्वभरका नेताहरू भारतमा भेला हुन लागेको बताएका छन्।

मोदीले विश्व कल्याणको कामनासहित विभिन्न विषयमा सकारात्मक र सार्थक छलफल हुने विश्वास व्यक्त गरेका छन्। उनले पारस्परिक सद्भाव, संवाद र मैत्रीपूर्ण सम्बन्धमार्फत शान्ति तथा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

यस वर्षको ब्रिक्स सम्मेलनमा विश्व शासन, बहुपक्षीयता, व्यापार, ऊर्जा तथा खाद्य सुरक्षा, स्वास्थ्य, प्रविधि र आपूर्ति शृंखलाको स्थायित्वलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सम्मेलनको अन्त्यमा ‘नयाँदिल्ली घोषणा’ जारी गर्ने तयारी छ।

ब्रिक्सको मूल समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका थिए। पछिल्ला वर्षमा समूह विस्तार भएसँगै इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र साउदी अरेबियासमेत सदस्य बनेका छन्। अहिले ब्रिक्समा ११ सदस्य राष्ट्र छन्।

यसपटकको सम्मेलनलाई विश्वव्यापी भूराजनीतिक तनाव, व्यापारिक प्रतिस्पर्धा, ऊर्जा सुरक्षा तथा विभिन्न क्षेत्रमा देखिएको आपूर्ति अवरोधका बीच ब्रिक्स सदस्य राष्ट्रबीच सहकार्य बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। रुस–युक्रेन युद्ध तथा पश्चिम एसियाको तनावजस्ता विषयले पनि सम्मेलनमा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने देखिएको छ।

पुटिनको भारत भ्रमणका क्रममा रुसी राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्तासमेत हुने अपेक्षा गरिएको छ। दुई देशबीच ऊर्जा, रक्षा, प्रविधि, व्यापारलगायतका क्षेत्रमा सहकार्यका विषय छलफलमा आउने सम्भावना छ।

सम्बन्धित समाचार