काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई चीनले आपत्कालीन राहत तथा उद्धार सहयोग निरन्तरता दिएको छ। चीनले पाँचौँ किस्तासम्म राहत सामग्री उपलब्ध गराएको जनाइएको छ।
चीनले यसअघि विभिन्न चरणमा नेपाललाई उद्धार तथा राहत सामग्रीसँगै प्राविधिक जनशक्ति पनि उपलब्ध गराउँदै आएको छ। पछिल्लो सहयोगमा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने उद्धार उपकरण तथा मानवीय सामग्रीलाई प्राथमिकता दिइएको छ।
यसअघि चीनबाट आएको चौथो खेपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिज र सौर्य ऊर्जाबाट चल्ने बत्ती लगायतका सामग्री थिए। ती सामग्री चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए मालवाहक विमानमार्फत काठमाडौँ ल्याइएको थियो।
त्यसैगरी तेस्रो खेपमा शव संरक्षणका लागि फ्रिज, महामारी रोकथाम सामग्री, दैनिक आवश्यकताका सामान तथा बेलीब्रिजसम्बन्धी सामग्री ल्याइएको थियो। सोही क्रममा १० जना चिनियाँ फरेन्सिक विज्ञसमेत नेपाल आएका थिए, जसले विपद्मा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा सहयोग गरेका छन्।
चीनले यसअघि ड्रोन, डीएनए परीक्षण उपकरण तथा रसायन, पानी शुद्धीकरण उपकरण र प्रकाशका सामग्रीसमेत नेपाल पठाएको थियो। साथै चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली नेपालमा उद्धार कार्यमा परिचालित भएको छ।
भोटेकोशी बाढीपछि चीनले नेपाललाई आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ। चिनियाँ सरकारबाट २० लाख अमेरिकी डलर आपत्कालीन सहयोग तथा चिनियाँ रेडक्रसबाट थप २ लाख अमेरिकी डलर सहयोग प्राप्त भएको छ।
भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना र सीमा नाका लगायतका महत्वपूर्ण पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ। पछिल्लो समय नेपालले उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिरहेको छ।