रसुवा । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा तत्काल आवागमन सहज बनाउन वैकल्पिक फड्के र तुइन निर्माण गरिएको छ। फलाखुखोलामा बाँस तथा काठ प्रयोग गरेर फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीस्थित भोटेकोसी नदीमाथि फलामे तुइन जडान गरिएको हो।
फलाखुखोलाको पक्की पुल र स्याफ्रुबेँसीस्थित भोटेकोसी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि त्यस क्षेत्रमा आवतजावत अवरुद्ध भएको थियो। तत्कालको समस्या समाधान गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा वैकल्पिक संरचना निर्माण गरिएको हो।
बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवागमन सहज भएको छ। यसबाट लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका बासिन्दालाई समेत राहत पुगेको जनाइएको छ।
त्यस्तै, स्याफ्रुबेँसीमा निर्माण गरिएको फलामे तुइनबाट उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ। तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।
तर स्थानीयवासीले भने फड्के र तुइन तत्कालका लागि उपयोगी भए पनि दीर्घकालीन समाधान नभएको बताएका छन्। उनीहरूले बाढीले भत्काएका सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिँदै बेलिब्रिज निर्माण गर्न माग गरेका छन्।