एसियाडमा पदकको लक्ष्य, नेपाली उसु टोली चीनको विशेष तयारीपछि जापान प्रस्थान गर्दै

7k Shares

काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालबाट सहभागी हुने उसु खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई नेपाल उसु महासंघले बिदाइ गरेको छ।

दशरथ रंगशालामा आयोजित बिदाइ कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय प्रभा कार्की, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पवन शाही, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना ‘विश्वास’ लगायत महासंघका पदाधिकारी, प्रमुख प्रशिक्षक गणेशप्रसाद अर्यालसहित प्रशिक्षक, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली टोलीलाई एसियाडमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइएको थियो।

एसियाडका लागि नेपाली उसु टोलीले लामो समयदेखि तयारी गर्दै आएको छ। खेलाडीहरूले १८ महिनादेखि क्याम्पमा बसेर निरन्तर प्रशिक्षण गर्दै आएका छन्। यस अवधिमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर प्राप्त गरेको अनुभवले पनि उनीहरूको आत्मविश्वास बढाएको महासंघले जनाएको छ।

त्यसैगरी, नेपाल उसु महासंघले पछिल्लो एक महिनादेखि मित्रराष्ट्र चीनमा उपलब्ध गराएको विशेष थाओलु प्रशिक्षणले खेलाडीहरूको तयारीलाई थप मजबुत बनाएको छ। लामो समयको प्रशिक्षण, अन्तर्राष्ट्रिय अनुभव र चीनमा गरिएको विशेष तयारीका कारण यसपटक नेपाली उसु टोलीबाट ऐतिहासिक नतिजाको अपेक्षा गरिएको छ।

एसियाडमा थाओलु विधातर्फ विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, दीपक हमाल, सुस्मिता तामाङ र सबिता राई ले नेपालको प्रतिनिधित्व गर्नेछन्।

त्यस्तै, सान्डा विधातर्फ रोहित चुनारो, अमर सुनार, सञ्जीव महर्जन र रीता ठकुल्ला प्रतिस्पर्धामा उत्रनेछन्।

नेपाली टोलीका प्रशिक्षकमा प्रकाश महर्जन र तुल्सीनन्द बज्राचार्य रहेका छन् भने मन्जुर महर्जन निर्णायकका रूपमा जापान जानेछन्।

नेपाल उसु महासंघले खेलाडीहरूको लामो समयदेखिको मेहनत र तयारीले एसियाडमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरेको छ। नेपाली खेलाडीहरूले एसियाली खेलकुदको प्रतिष्ठित मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएका छन्।

नेपालको उसु टोलीको तयारी र सहभागितालाई अन्तर्राष्ट्रिय उसु महासंघ International Wushu Federation (IWUF) को अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक संरचनासँग जोडिएको नेपाली उसुको महत्वपूर्ण सहभागिताका रूपमा पनि हेरिएको छ।

सम्बन्धित समाचार