प्लेअफ दौडलाई बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदै चार टोली

722 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सको सामना गर्दा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने भएका छन्।

आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित प्रतियोगितामा आफ्नो यात्रा अघि बढाइरहेको छ। पाँचौँ खेल खेल्न लागेको सुदूरपश्चिमलाई प्लेअफको सम्भावना बलियो बनाउन जित आवश्यक छ।

अर्कोतर्फ कर्णाली याक्सले तीन खेलबाट एक जित र दुई हार बेहोरेको छ। आज आफ्नो चौथो खेल खेल्न लागेको कर्णाली पनि जित हासिल गर्दै अंक तालिकामा सुधार गर्ने दाउमा हुनेछ।

यसैगरी आजको दोस्रो खेल साँझ ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ। तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँडेको छ। तीन अंकसहित तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको चितवनका लागि पनि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

यता पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि खेलेका खेलमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्ने योजनामा मैदान उत्रनेछ।

प्रतियोगिताको यस चरणमा अंक बटुल्न चारै टोलीलाई दबाब रहेकाले आजका दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। विशेषगरी प्लेअफको समीकरणमा प्रभाव पार्न सक्ने भएकाले यी खेललाई महत्त्वका साथ हेरिएको छ।

खेल तालिका

  • पहिलो खेल: सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे
  • दोस्रो खेल: चितवन राइनोज विरुद्ध पोखरा एभेन्जर्स — साँझ ५ बजे
सम्बन्धित समाचार