सिरियाको एलेप्पोमा हतियार भण्डारणस्थल विस्फोटपछि सडक बन्द, उद्धार टोली सतर्क

1.4k Shares

एलेप्पो । उत्तरी सिरियाको एलेप्पो शहरनजिकै रहेको एक हतियार भण्डारणस्थलमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय सरकारी सञ्चारमाध्यमका अनुसार सोमबार बिहान एलेप्पो शहरको दक्षिणमा पर्ने अल–इस नगरनजिकै सिरियाली सेनाको एक स्थलमा विस्फोट भएको हो ।

अलजजिराका अनुसार, एलेप्पोमा नागरिक सुरक्षा (सिभिल डिफेन्स) अभियानका प्रमुख फैसल मोहम्मद अलीले उद्धारकर्मीले घटनास्थलबाट चार जना घाइतेलाई उद्धार गरेको बताएका छन् ।

उनका अनुसार घटनास्थलमा लगातार विस्फोट भइरहेकाले आपत्कालीन सेवाका टोलीलाई त्यहाँ पुग्न कठिन भइरहेको छ । उनले सर्वसाधारणलाई सुरक्षाका कारण उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् ।

एलेप्पोका गभर्नर अज्जाम अल–घरिबले पनि केही समयका लागि स्थानीय बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले अस्पताल, एम्बुलेन्स तथा आपत्कालीन उद्धार टोलीलाई पूर्ण रूपमा सतर्क अवस्थामा राखिएको जानकारी दिएका छन् ।

विस्फोटपछि एलेप्पोको आन्तरिक सुरक्षा कमान्डले घटनास्थलतर्फ जाने सडकहरू बन्द गरेको जनाएको छ । सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटको कारणबारे तत्काल विस्तृत जानकारी सार्वजनिक भएको छैन । घटनास्थलमा लगातार भइरहेका विस्फोटका कारण उद्धार तथा सुरक्षा टोलीले सावधानीपूर्वक काम गरिरहेका छन् ।

सम्बन्धित समाचार