जलन उपचारका लागि सरकारले विशेषज्ञ जनशक्ति तयार पार्ने, ३० कार्यदिनको तालिम

1.4k Shares

काठमाडौँ । सरकारले जलन उपचारका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न ३० कार्यदिनको विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक स्वास्थ्य जनशक्ति तयार गर्ने उद्देश्यले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्न लागेको हो। केन्द्रले यसका लागि आवश्यक पाठ्यक्रम तथा तालिम सामग्रीसमेत विकास गरिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत ६ साउन २०८३ मा बसेको बैठकको निर्णयअनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तालिम सञ्चालनको प्रक्रिया अघि बढाइएको हो।

स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयका अनुसार तालिममा शल्य चिकित्सक तथा सामान्य चिकित्सा विशेषज्ञ, शल्यकक्षमा कार्यरत नर्स, सघन उपचार कक्षका नर्स तथा आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मी सहभागी हुनेछन्।

तालिमपछि सम्बन्धित अस्पतालमै जलन उपचार कक्ष तथा जलन वार्डको स्थापना, विस्तार र सुदृढीकरण गरी विशिष्टीकृत उपचार सेवा सञ्चालन गर्न सक्षम जनशक्ति तयार हुने अपेक्षा गरिएको छ।

तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी छ।

पहिलो समूहमा मधेश प्रदेशको नारायणी अस्पतालबाट चार जना र कर्णाली प्रदेशको प्रदेश अस्पतालबाट चार जना गरी आठ जना स्वास्थ्यकर्मी सहभागी हुनेछन्।

तालिममा जलन भएका बिरामीको आकस्मिक तथा शल्य उपचार, घाउको मूल्याङ्कन तथा व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, आकस्मिक अवस्थामा बिरामीको प्राथमिकता निर्धारण, तरल पदार्थ व्यवस्थापन, संक्रमण नियन्त्रण, पोषण तथा दुखाइ व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ।

त्यसैगरी जलन उपचार कक्ष सञ्चालन तथा व्यवस्थापनका विषयमा समेत स्वास्थ्यकर्मीलाई आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ।

यसअघि ५६३ जनाले तालिम लिए

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यसअघि पनि जलन उपचारसम्बन्धी आधारभूत तथा प्राथमिक तहका तालिम सञ्चालन गर्दै आएको छ।

केन्द्रका अनुसार आधारभूत जलन उपचारसम्बन्धी तालिमअन्तर्गत हालसम्म ११ समूहमा १९९ जना स्वास्थ्यकर्मीले तालिम प्राप्त गरेका छन्। त्यस्तै प्राथमिक जलन उपचारसम्बन्धी तालिमअन्तर्गत २३ समूहमा ३६४ जनाले तालिम लिइसकेका छन्।

अब विशेषज्ञ तहको तालिम विस्तार गरिएसँगै जलन उपचारमा दक्ष जनशक्तिको संख्या बढ्ने अपेक्षा गरिएको छ।

हाल गम्भीर जलन भएका बिरामीलाई विशिष्टीकृत उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने अवस्था रहने गरेको छ। प्रदेश तथा अन्य जिल्लाका अस्पतालमा आवश्यक जनशक्ति र सेवा विस्तार गर्न सकिएमा बिरामीलाई उपचारका लागि राजधानीमै ल्याउनुपर्ने बाध्यता क्रमशः घट्ने सरकारको अपेक्षा छ।

विशेषज्ञ तालिमबाट तयार हुने जनशक्तिले सम्बन्धित अस्पतालमै जलनका बिरामीको आकस्मिक उपचारदेखि शल्यक्रिया, सघन उपचार र पुनःस्थापनासम्मका सेवा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार