चेस ओलम्पियाडमा नेपालका दुवै टोलीको शानदार प्रदर्शन

890 Shares

काठमाडौँ।उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोस्रो चरणमा प्रभावशाली प्रदर्शन गर्दै पुरुष र महिला दुवै विधामा ४–० को जित निकालेको छ।

बिहीबार सम्पन्न खेलमा खुला विधातर्फ नेपालले कोमोरोस आइल्यान्ड्सलाई ४–० ले पराजित गरेको हो। सिएम पुरुषोत्तम सिलवाललाई विश्राम दिइएको खेलमा एफएम रुपेश जैसवाल, सिएम सुश्रुत दाहाल, आशिष फुयाँल र राजन सुवेदीले आ–आफ्नो खेल जित्दै नेपाललाई क्लिन स्वीप दिलाए।

रुपेश जैसवालले कोमोरोसका मोहमद इस्माइल अजिराड्जिलाई पराजित गरे। त्यस्तै सिएम सुश्रुत दाहालले मोहमद अब्दोलाई हराए। आशिष फुयाँलले अजहर सैदविरुद्ध वाकओभर पाए भने राजन सुवेदीले ओमर एमचझ्गामालाई पराजित गरे।

यसअघि पहिलो चरणमा नेपालले बलियो डेनमार्कसँग ३.५–०.५ को हार बेहोरेको थियो। डेनमार्कविरुद्ध आशिष फुयाँलले बराबरी खेलेका थिए।

प्रशिक्षक किरिल देरिनोभको नेतृत्वमा खेलेको नेपाली पुरुष टोलीले दोस्रो चरणको जितसँगै प्रतियोगितामा पहिलो अंक जोडेको हो। व्यक्तिगततर्फ आशिष फुयाँलको १.५ अंक रहेको छ भने दोस्रो चरणमा जित हासिल गरेका रुपेश, सुश्रुत र राजनले समान १–१ अंक जोडेका छन्।

महिलातर्फ पनि ४–० को जित

महिला विधामा पनि नेपालले अफगानिस्तानमाथि ४–० को शानदार जित निकाल्दै प्रतियोगितामा पहिलो विजय दर्ता गरेको छ।

महिला टोलीका लागि एन्जल महर्जनले सेतारेह अजिजिलाई, कृतिसरा अधिकारीले नूरीन गोउहरिलाई, पूजा भण्डारीले गुनेश बेल्कसलाई तथा सिन्दिरा जोशीले जैनव फराहमन्दलाई पराजित गरे।

महिला टोली एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा प्रतियोगितामा सहभागी भइरहेको छ।

४६औँ चेस ओलम्पियाड सेप्टेम्बर १५ देखि २७ सम्म समरकन्दमा सञ्चालन भइरहेको छ। प्रतियोगितामा खुला र महिला दुवै विधामा ११ चरणको स्विस प्रणालीअन्तर्गत क्लासिकल प्रतिस्पर्धा भइरहेको छ।

यस संस्करणमा विश्वभरबाट चार सयभन्दा बढी राष्ट्रिय टोलीको सहभागिता रहेको छ। नेपालले आगामी चरणमा पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार