बाढीपीडितको सहयोग जुटाउन माल्दिभ्समा नेपाली समुदायको भलिबल प्रतियोगिता

1.5k Shares

काठमाडौं। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले माल्दिभ्समा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

तमु समाज माल्दिभ्सको आयोजनामा आगामी २५ सेप्टेम्बर (असोज ९ गते) शुक्रबार मालेस्थित मालृ कार्पेट भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितालाई खेलकुदसँगै नेपालका बाढीपीडितका लागि राहत संकलन गर्ने अभियानका रूपमा अघि बढाइने भएको हो।

तमु समाज माल्दिभ्सका सल्लाहकार जीवन गुरुङका अनुसार नेपाली समुदायबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई मजबुत बनाउँदै विपत्तिमा परेका नेपालीलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता स्थलमा डोनेसन बक्स राखिनेछ। उक्त बक्समा संकलन भएको रकम बाढी प्रभावित परिवारको सहयोगमा हस्तान्तरण गरिने समाजका अध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए। सहयोग गर्ने व्यक्तिहरूको नामावलीसमेत संकलन गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, सिधै नेपाल सरकारको प्रधानमन्त्री बाढीपीडित राहत कोषमा रकम जम्मा गर्न इच्छुक व्यक्तिका लागि प्रतियोगिता स्थलमै सरकारी क्यूआर कोडको व्यवस्था गरिनेछ।

प्रतियोगिताको विजेताले ४ हजार ५ सय माल्दिभ्स रुफियासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ हजार ५ सय माल्दिभ्स रुफियासहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार