काठमाडौं । दोस्रो काठमाडौं–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा धिरेन राईले लगातार ६ जित निकाल्दै अग्रता बनाएका छन्।
काठमाडौं महानगरपालिका–१० को आयोजनामा नयाँ बानेश्वरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन स्विस लिग प्रणालीअन्तर्गत ६ चरणका खेल सम्पन्न भएका छन्। राईले पहिलो दिन खेलेका सबै ६ खेलमा जित निकाल्दै पूर्ण ६ अंक जोडेर शीर्ष स्थानमा रहेका छन्।
प्रतियोगितामा देशभरबाट २२० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। कुल नौ चरणमा सञ्चालन हुने प्रतियोगिताका बाँकी तीन चरणका खेलपछि विजेताको टुंगो लाग्नेछ।
प्रतियोगिताको विजेताले नगद २६ हजार २५० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले २२ हजार ५०० रुपैयाँ तथा तेस्रो हुने खेलाडीले १८ हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, चौथो स्थान हासिल गर्नेले ११ हजार २५० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
पाँचौँदेखि दशौँ स्थानसम्म रहने खेलाडीलाई जनही ७ हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको आयोजक काठमाडौं महानगरपालिका–१० का सचिव सुबोध खड्का र प्रतियोगिता निर्देशक इन्द्रकुमार बस्नेतले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा प्रतियोगिता निर्देशक बस्नेतले राष्ट्रियस्तरको खुला रेपिड चेस प्रतियोगिताले नेपाली बुद्धिचालको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै नेपाली बुद्धिचाललाई थप नयाँ आयाम दिने बताए।