खराब मौसमले आन्तरिक उडान प्रभावित, भरतपुर–तुम्लिङटार बन्द

925 Shares

काठमाडौँ । प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण आज देशका विभिन्न गन्तव्यतर्फका आन्तरिक हवाई उडान प्रभावित भएका छन्। मौसममा आएको खराबीका कारण पहाडी तथा तराई क्षेत्रका केही विमानस्थलमा उडान तालिका प्रभावित भएको हो।

बुद्ध एयरका अनुसार कम भिजिबिलिटीका कारण भरतपुर र तुम्लिङटार विमानस्थल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। मौसममा सुधार भई भिजिबिलिटी पर्याप्त नबढेसम्म ती गन्तव्यका उडान सञ्चालन गर्न कठिन हुने कम्पनीले जनाएको छ।

यता पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमशः सुधार हुँदै गएको छ। भिजिबिलिटीमा थप सुधार आएपछि पोखरातर्फका उडान नियमित हुने अपेक्षा गरिएको बुद्ध एयरले जनाएको छ।

मौसम प्रतिकूल भएपछि आजका लागि निर्धारित सबै माउन्टेन फ्लाइटसमेत रद्द भएका छन्। कम भिजिबिलिटीका कारण हिमाल देख्न नसकिने तथा उडान सुरक्षामा समेत असर पर्ने भएकाले माउन्टेन फ्लाइट सञ्चालन गर्न नसकिएको कम्पनीले स्पष्ट पारेको छ।

खराब मौसमका कारण उडान प्रभावित भएपछि यात्रुलाई सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

सम्बन्धित समाचार