काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। बाढीका कारण थप २३ घर उच्च जोखिममा परेका छन्।
बाढीका कारण उच्च जोखिममा रहेका घरमा बस्नसमेत नमिल्ने अवस्था भएपछि त्यहाँ रहेका स्थानीयका सरसामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
घटनास्थलमा उद्धार तथा व्यवस्थापनका लागि सुरक्षा निकायका टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वतसहित अन्य सुरक्षा निकायका टोली घटनास्थलमा निरन्तर खटिएका छन्।
डीएसपी शैलेन्द्र थापाका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।
कालीगण्डकीमा आएको बाढीका कारण फर्से क्षेत्रमा ठूलो क्षति भएपछि थप जोखिममा रहेका घर तथा बस्तीको अवस्थाबारे सुरक्षा निकायले निगरानी गरिरहेको छ। स्थानीयलाई जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको छ।