फिडेको अध्यक्षमा तुर्लोभ निर्वाचित, वरिष्ठ उपाध्यक्षमा विश्वनाथन आनन्द

1.2k Shares

काठमाडौं । काजकिस्तानका उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासङ्घ (फिडे) को अध्यक्षमा निर्वाचित भएका छन्। उज्बेकिस्तानको समरकन्दमा शनिबार सम्पन्न फिडे महासभाको निर्वाचनमा तुर्लोभले जर्मन उद्यमी वादिम रोजेनस्टाइनलाई पराजित गर्दै आगामी चार वर्षका लागि अध्यक्षको जिम्मेवारी पाएका हुन्।

निर्णायक दोस्रो चरणको मतदानमा तुर्लोभले ११० मत प्राप्त गर्दा रोजेनस्टाइनले ८५ मत पाए। निर्वाचनमा तेस्रो उम्मेदवार जर्मनीका जान हेनरिक्स बुटनर पहिलो चरणबाटै बाहिरिएका थिए।

पहिलो चरणमा तुर्लोभले ९६, रोजेनस्टाइनले ७६ र बुटनरले २० मत प्राप्त गरेका थिए। कुल १९६ मतमध्ये चार मत बदर हुँदा १९२ मत सदर भएको थियो। पहिलो चरणमै निर्वाचित हुन ९७ मत आवश्यक थियो। आवश्यक बहुमतभन्दा तुर्लोभ एक मतले पछि परेपछि दोस्रो चरणमा उनी र रोजेनस्टाइनबीच प्रतिस्पर्धा भएको हो।

दोस्रो चरणमा बुटनरले तुर्लोभलाई समर्थन गरेपछि उनको पक्षमा ११० मत पुगेको थियो।

तुर्लोभको समूहबाट पाँच पटकका विश्व च्याम्पियन भारतीय ग्रान्डमास्टर विश्वनाथन आनन्द फिडेको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। सोही समूहबाट चीनका जु युहुवा, अमेरिकाका मिचेल, रुसका पालोभ तथा डिजिबोटिका यासिन हसन उपाध्यक्षमा निर्वाचित भएका छन्।

नेपालको समर्थन

फिडेको निर्वाचनमा नेपालले सुरुदेखि नै तुर्लोभ र आनन्द नेतृत्वको समूहलाई समर्थन गर्दै प्रचारप्रसारमा समेत सहयोग गरेको थियो। निर्वाचनमा विजयी भएपछि नवनिर्वाचित अध्यक्ष तुर्लोभले नेपाल चेस महासङ्घको टोलीप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा चेसको विकासका लागि विभिन्न योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

फिडे कङ्ग्रेसमा नेपाली प्रतिनिधिमण्डलका अध्यक्ष हेरा काजी महर्जन, महासचिव धरमबहादुर लामा, फिडे महिला कमिसन सदस्य एवं उपमहासचिव मोनालिसा खम्बु, रुल्स अफ कमिसनका कन्सुलर उमेश केसी, कार्यवाहक कोषाध्यक्ष निरञ्जन प्रजापति र प्रवक्ता राजु ताम्राकारलगायत सहभागी भएका थिए।

चेस ओलम्पियाडमा नेपालको उच्च उपलब्धि

यसैबीच ४६औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टोलीले १०औँ चरणको खेलमा ट्रिनिडाड एन्ड टोबागोलाई पराजित गरेको छ। उक्त जितसँगै नेपाली टोली डी समूहको शीर्ष स्थानमा पुगेको जनाएको छ।

नेपालले प्रतियोगितामा विश्वका २०६ टोलीमध्ये ८०औँ स्थान हासिल गर्दै चेस ओलम्पियाडको इतिहासमा आफ्नो उच्च उपलब्धि कायम गरेको छ।

सम्बन्धित समाचार