भोटेकोशी–त्रिशूली बाढीले पशु स्वास्थ्य संरचनामा क्षति, महामारी रोक्न निगरानी तीव्र

1.3k Shares

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पशुधनसँगै पशु स्वास्थ्य सेवा प्रणालीमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा बाढीपछि पशुजन्य रोग तथा महामारीको जोखिम बढ्न नदिन सरकारी निकाय, पशु चिकित्सक र व्यावसायिक संस्थाले उपचार, रोग निगरानी तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिएका छन्।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार बाढीले रसुवाको टिमुरेस्थित अस्थायी पशु क्वारेन्टाइन चेकपोस्ट पूर्ण रूपमा बगाएको छ। गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका पशुसेवा शाखा नष्ट भएका छन् भने नुवाकोट पशुसेवा कार्यालयमा आंशिक क्षति पुगेको छ।

भौतिक संरचनामा क्षति पुगे पनि प्रभावित क्षेत्रमा पशु स्वास्थ्य सेवा निरन्तर राख्न स्थानीय तह र प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ।

बाढीपछि घाइते, बिरामी तथा विस्थापित पशुको उपचारलाई प्राथमिकतामा राखिएको छ। प्रभावित क्षेत्रमा पुगेका प्राविधिक टोलीले उपचारसँगै औषधी वितरण, पोषण व्यवस्थापन र अस्थायी गोठ निर्माणमा सहयोग गरिरहेका छन्। बाढीमा मरेका पशुको व्यवस्थापनलाई पनि तीव्र पारिएको छ।

मरेका पशु समयमै व्यवस्थापन गर्न सके रोग फैलिने जोखिम घटाउन सकिने सरोकारवालाको भनाइ छ।

रोग निगरानी र औषधी वितरणमा जोड

नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीका अनुसार एसोसिएसनले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग जारी राखेको छ।

टोलीले औषधी, फिड सप्लिमेन्ट र आवश्यक उपकरण हस्तान्तरण गर्नुका साथै बाढीपछि फैलिन सक्ने सङ्क्रामक रोगको जोखिमबारे सूचना सङ्कलन गरिरहेको छ।

जनस्वास्थ्य तथा पशुसेवा विज्ञ डा. मनोजकुमार शाहीका अनुसार बाढीपछिको सबैभन्दा महत्वपूर्ण पक्ष रोगको रोकथाम हो। मृत पशुको समयमै व्यवस्थापन, दूषित पानी नियन्त्रण, खोप कार्यक्रम र प्रभावकारी रोग निगरानी गर्न सके महामारीको जोखिम कम गर्न सकिने उनले बताए।

उनका अनुसार पुनर्निर्माणसँगै जैविक सुरक्षा प्रणालीलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ।

ठूलो सङ्ख्यामा पशुपन्छी नष्ट

एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेका अनुसार रसुवा र नुवाकोट क्षेत्रमा बाढीका कारण करिब ६ सय भैँसी, १५ हजार सुँगुर तथा करिब दुई लाख व्यावसायिक कुखुरा नष्ट भएका छन्।

बाढीका कारण पशुधनमा भएको क्षतिसँगै पशु स्वास्थ्यका पूर्वाधारसमेत प्रभावित भएकाले प्रभावित किसानलाई उपचार, औषधी, पोषण तथा पुनर्स्थापनामा निरन्तर सहयोग आवश्यक रहेको पशु स्वास्थ्य क्षेत्रका सरोकारवालाले बताएका छन्।

सम्बन्धित समाचार