चितवन । नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैँडाकोट–२ बोटे टोलस्थित होटल रिभर क्राउनको क्रुज बगाएर नारायणी पुलमा अड्किएको छ।
हिजो साँझ बाढीले बगाएको क्रुज पुलको नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको हो। क्रुज अड्किएपछि त्यसलाई सुरक्षित रूपमा निकाल्न उद्धार तथा सुरक्षा निकायको टोली परिचालन गरिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक विभागको टोलीले क्रुज निकाल्ने तयारी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नदीमा पानीको बहाव र बाढीको अवस्थालाई ध्यानमा राख्दै क्रुज निकाल्ने प्रयास भइरहेको जनाइएको छ। क्रुज पुलमै अड्किएपछि नारायणी पुलको संरचना तथा आसपासको क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले सुरक्षा निकायले घटनास्थलमा निगरानी बढाएका छन्।