काठमाडौं । नारायणी नदीको जलसतह घट्दो क्रममा रहेको छ । पछिल्लो अवस्थाअनुसार नारायणीसहित देशका अन्य प्रमुख नदीहरूमा समेत बाढीको जोखिम तत्कालका लागि हटेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनयता लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेको थियो। देवघाटस्थित मापन केन्द्रमा नारायणीको जलसतह निकै माथि पुगेपछि चितवन र नवलपरासीका तटीय तथा होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।
पछिल्लो मापनअनुसार भने नारायणीको जलसतह क्रमशः घटिरहेको छ। यससँगै नदी आसपासका क्षेत्रमा देखिएको बाढी तथा डुबानको जोखिम पनि कम हुँदै गएको छ।
यसअघि नारायणीका साथै कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बूढीगण्डकी र त्रिशूलीलगायत नदीमा समेत बहाव बढेको थियो। केही नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको थियो।
बाढी पूर्वानुमान महाशाखाले पछिल्ला दिनमा वर्षाका कारण देशका प्रमुख नदी तथा सहायक नदीमा पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गर्दै आएको थियो। विशेषगरी कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी प्रणालीमा बहाव बढ्ने सम्भावना औँल्याइएको थियो।
हाल नदीको जलसतह घट्दो क्रममा रहे पनि मौसममा पुनः परिवर्तन भई भारी वर्षा भएमा नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना हेरेर सतर्क रहन आग्रह गरिएको छ।