चितवन। नारायणी नदीमा आएको बाढीले बगाएर पुलको पिल्लरमा अड्किएको ‘राइनो क्रुज’ अझै नदीबाट निकाल्न सकिएको छैन। गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बाढीले बगाएको क्रुज नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको हो।
राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलका अनुसार क्रुजलाई क्रेनको सहयोगमा पल्टाइए पनि नदीबाट बाहिर निकाल्न भने सकिएको छैन। बाढीले क्रुजमा ठूलो क्षति पुर्याएको र अब तत्कालै यसलाई सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए।
केही समयअघि चितवनको काभ्रेघाटमा तटबन्ध निर्माण गरी सञ्चालनमा ल्याइएको क्रुज त्यहाँ सञ्चालनमा कठिनाइ भएपछि नवलपरासीको गैँडाकोट लगिएको थियो। ढुङ्गेलका अनुसार गत असारदेखि गैँडाकोटस्थित होटल रिभर क्राउनले क्रुज खरिद गरी नदी किनारमा सञ्चालन गर्दै आएको थियो।
क्रुज परियोजनामा ३० जना साझेदारले करिब १५ करोड रुपैयाँ लगानी गरेका थिए। त्यसमध्ये क्रुजको मात्रै लागत करिब १० करोड रुपैयाँ रहेको सञ्चालकको भनाइ छ। बाढीबाट क्रुजमा १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताएका छन्।
सञ्चालक ढुङ्गेलले क्रुजलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यक पर्ने बताए। उनका अनुसार क्रुजलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको थियो।
कम्पनीले पर्यटन विभागबाट देवघाटदेखि गोलाघाटसम्म करिब ४० किलोमिटर जलयात्रा सञ्चालन गर्ने अनुमति पाएको थियो। करिब ९५ फिट लामो र २१ फिट चौडा, साढे दुई तले क्रुजमा एकपटकमा १५० जनासम्म यात्रु राख्न सकिने व्यवस्था थियो।
क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेजसँगै विवाह, व्रतबन्ध, पास्नी तथा जन्मोत्सवजस्ता कार्यक्रमका लागि विशेष बुकिङको सुविधा पनि उपलब्ध थियो। चितवनको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त क्रुज बाढीका कारण ठूलो क्षतिमा परेको हो।