फ्लाई दुबईको ककपिटमा पाइलटमाथि चक्कु प्रहार, ट्रम्पले भने– ‘सह–पाइलट आतंकवादी हुन सक्छन्’

1.9k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबई विमानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग फोनमा कुराकानी गरेको बताएका छन्।

ट्रम्पले बुधबार नेतन्याहूले आफूलाई घटनाबारे जानकारी गराएको र विमानमा रहेका यात्रुले उडानलाई बचाउन तथा नियन्त्रणमा ल्याउन प्रयास गरेको बताएका हुन्।

घटनाबारे प्रतिक्रिया दिँदै ट्रम्पले सह–पाइलट सम्भवतः आतंकवादी भएको वा उनको मानसिक अवस्था ठीक नभएको हुन सक्ने बताएका छन्।

‘मलाई लाग्छ, यो निकै अचम्मलाग्दो घटना हो । यस्तो देखिन्छ कि सह–पाइलट सम्भवतः आतंकवादी थिए वा उनको मानसिक अवस्था ठीक थिएन,’ ट्रम्पले भने।

ट्रम्पले घटनाका क्रममा आक्रमणमा परेका भारतीय पाइलटको समेत प्रशंसा गरेका छन्। उनले पाइलटलाई ‘हिरो’ भन्दै उनको साहसको सराहना गरेका हुन्।

घटना बुधबार भएको हो। दुबईबाट तेल अभिवका लागि उडेको फ्लाई दुबईको विमानले उडान भरेको करिब दुई घण्टापछि आफ्नो मार्ग परिवर्तन गर्दै साउदी अरबतर्फ मोडिएको थियो। त्यसपछि विमान साउदी अरबमै अवतरण गरेको बताइएको छ।

उडानका क्रममा ककपिटभित्र एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेको बताइएको छ। आक्रमणमा परेका पाइलट भारतीय नागरिक स्मित मच्छर रहेको जनाइएको छ।

घटनापछि स्मित मच्छरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनको अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ।

ककपिटभित्र भएको आक्रमणको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार