काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपालमा खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। चाडपर्वको समय र उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको हो।
आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलको २० रुपैयाँ २१ पैसा, मट्टीतेलको १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनको मूल्य १८ रुपैयाँ ६६ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै, एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको छ।
तर, हालैको बाढीपहिरोबाट सिर्जित अवस्था, नजिकिँदै गरेको दसैँलगायतका चाडपर्व तथा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य समायोजन नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।
निर्णयअनुसार पेट्रोलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, १९९ रुपैयाँ र २०० रुपैयाँ नै कायम रहनेछ। डिजेल तथा मट्टीतेलको मूल्य पनि यथावत् रहनेछ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
खरिद मूल्य बढे पनि बिक्री मूल्य नबढाउँदा निगमलाई आर्थिक भार पर्ने भएको छ। निगमका अनुसार हालको मूल्य यथावत् राख्दा आगामी १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
चाडपर्वका बेला ठूलो संख्यामा यात्रु तथा सवारीसाधन सडकमा निस्कने भएकाले इन्धनको मूल्य वृद्धि नगर्ने निर्णयले तत्काल उपभोक्तामाथि थप मूल्यवृद्धिको भार नपर्ने भएको छ।