काठमाडौं । नेपाली चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य एशियन स्कुल चेस च्याम्पियनसिपमा सहभागी हुन बिहीबार रुस प्रस्थान गरेका छन्।
नेपाल बुद्धिचाल महासंघको समन्वयमा हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन अग्रिमले युवा–१३ वर्षको छात्रतर्फ तथा अग्रताले युवा–११ वर्षको छात्रातर्फ प्रतिस्पर्धा गर्नेछन्। उनीहरूसँगै खेलाडीका अभिभावक अमूल्य आचार्य पनि रुस गएका छन्।
रुसको बुनरेभोस्थित तुला क्षेत्रमा अक्टोबर १ देखि ११ सम्म सञ्चालन हुने २०औँ एशियन स्कुल चेस च्याम्पियनसिपमा क्लासिकल, र्यापिड र ब्लिट्ज विधामा प्रतिस्पर्धा हुनेछ। प्रत्येक विधामा नौ चरणका खेल सञ्चालन हुने जनाइएको छ।
नेपाल बुद्धिचाल महासंघका अनुसार एशियन चेस महासंघ (एसीएफ)को सहकार्य तथा स्थानीय आयोजकको व्यवस्थापनमा फिडेको नियमअनुसार प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालसहित चीन, इन्डोनेसिया, भारत, इरान, काजकिस्तान, पाकिस्तान, रुस, श्रीलंका, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका खेलाडी सहभागी हुँदैछन्। आयोजकका अनुसार प्रतियोगितामा १२ राष्ट्रका ३२१ खेलाडीको सहभागिता सुनिश्चित भएको छ।
अग्रिमले युवा–१३ वर्षको छात्रतर्फ र अग्रताले युवा–११ वर्षको छात्रातर्फ स्वर्ण, रजत तथा कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
दुवै खेलाडीको हवाई टिकट, खाना तथा आवासको व्यवस्था नेपाल बुद्धिचाल महासंघले गरेको जनाएको छ। महासंघले पछिल्लो समय नेपाली चेस खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर विस्तार गर्दै आएको बताएको छ।