जनकपुर बोल्ट्सले भित्र्यायो इंग्ल्यान्डका पूर्व स्टार मोइन अली

890 Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई टोलीमा अनुबन्ध गरेको छ।

३८ वर्षीय मोइन अलीले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट तीनै प्रारूपमा लामो समय क्रिकेट खेलेका छन्। उनले ६८ टेस्ट, १३८ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ९२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय (टी२०आई) खेल खेलेका छन्।

टेस्ट क्रिकेटमा अलीले ३ हजार ९४ रन बनाउनुका साथै २०४ विकेट लिएका छन्। ओडीआईमा उनको नाममा २ हजार ३५५ रन र १११ विकेट छ भने टी२०आईमा उनले १ हजार २२९ रन बनाउँदै ५१ विकेट लिएका छन्।

टेस्टमा अलीले पाँच शतक र १५ अर्धशतक प्रहार गरेका छन्। उनको टेस्टमा सर्वाधिक व्यक्तिगत स्कोर १५५ रन हो। ओडीआईमा उनको उच्च स्कोर १२८ तथा टी२०आईमा ७२ रन रहेको छ।

अलीले इंग्ल्यान्डले २०१९ मा एकदिवसीय विश्वकप तथा २०२२ मा टी२० विश्वकप जित्दा टोलीको सदस्यका रूपमा भूमिका निर्वाह गरेका थिए।

विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा अनुभव बटुलेका अलीले इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलिसकेका छन्।

उनको आगमनसँगै मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सको टोलीमा अन्तर्राष्ट्रिय अनुभव थपिएको छ। अलीको ब्याटिङ र अफ-स्पिन बलिङले टोलीको सन्तुलनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार