बाढीपीडितको उद्धार र पुनर्स्थापनाका लागि मनकामना केबलकारले दियो डेढ करोड

743 Shares

सुलीकोट (गोरखा) । मनकामना केबलकारले भोटेकोशी–त्रिशूली हिमबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएको थियो।

विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

विपद्पीडितको दुःखमा साथ दिने प्रतिबद्धता

सञ्चालक श्रेष्ठले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले विपद्मा परी घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेका छन्।

विपद्को कठिन समयमा राज्य र नागरिक दुवैको साझा जिम्मेवारी हुने उल्लेख गर्दै श्रेष्ठले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए।

उनका अनुसार सहयोगले विपद्पीडितको तत्कालीन दुःखमा केही राहत पुग्नुका साथै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्किन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्धार र पुनर्निर्माणमा सहयोग गर्न अपिल

श्रेष्ठले विपद्को समयमा देशवासी, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो तर्फबाट उद्धार, राहत र पुनर्निर्माणका काममा सहयोग गर्न अपिल गरेका छन्।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत र पुनर्स्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।

सम्बन्धित समाचार