चाडपर्वमा अप्रिय घटना रोक्न प्रहरीको विशेष रणनीति, बजार र सीमानाकामा निगरानी कडा

904 Shares

काठमाडौं । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वको समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी बढाएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष प्रहरी टोली परिचालन गरिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती तथा चेकजाँचलाई समेत तीव्रता दिइएको छ।

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार तिहारमा दियो, बत्ती तथा पटका प्रयोगबाट आगलागी र दुर्घटना हुनसक्ने जोखिमलाई ध्यानमा राखेर दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ।

त्यस्तै, देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले निर्धारण गरेको समय र मापदण्डभित्र रहेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ। प्रतिबन्धित पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार, ओसारपसार र प्रयोग नियन्त्रण गर्न बजार तथा सीमानाकामा विशेष चेकजाँच भइरहेको छ।

जुवातास र सट्टेबाजी नियन्त्रणका लागि सम्भावित स्थानमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ। मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, झैझगडा तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधिमाथि पनि प्रहरीले निगरानी बढाएको जनाएको छ।

चाडपर्वका अवसरमा आयोजना हुने र्‍याली, जुलुस तथा शोभायात्रामा हुनसक्ने विवाद र झडप रोक्न विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने र आतिशबाजी गर्ने गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई असर पार्न सक्ने भएकाले त्यसतर्फ पनि प्रहरीले ध्यान दिएको छ।

त्यसैगरी मेला तथा सार्वजनिक स्थानमा पूजा सामग्री, प्लास्टिक र फूलमालाको अव्यवस्थित विसर्जनबाट हुने वातावरणीय प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न र चाडपर्वलाई शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ।

कुनै स्थानमा आगलागी, विस्फोट वा दुर्घटना भए तत्काल प्रहरी, दमकल वा सम्बन्धित निकायलाई खबर गर्नसमेत अनुरोध गरिएको छ। अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार वा प्रयोग भएको जानकारी भए प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न सकिनेछ।

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै चाडपर्वलाई सभ्य, सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार