विद्युतीय गाडीमा यात्रा गर्दा किन बढ्छ वाकवाकी ? यस्तो छ कारण

1.7k Shares

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) मा यात्रा गर्दा केही यात्रुले पेट्रोल वा डिजेल गाडीको तुलनामा बढी वाकवाकी, चक्कर वा असहजता महसुस गर्ने गरेको पाइएको छ। यसबारे विज्ञहरूले विद्युतीय गाडीको गति परिवर्तन, ब्रेकिङ प्रणाली र इन्जिनको आवाज नहुनुलाई सम्भावित कारणका रूपमा औँल्याएका छन्।

ईभीमा यात्रा गर्दा सबैलाई यस्तो समस्या हुन्छ भन्ने होइन। तर केही यात्रुमा यसका लक्षण बढी गम्भीर देखिन सक्ने अनुसन्धानले संकेत गरेको छ। चीनमा ६३९ जनालाई समेटेर गरिएको एक सर्वेक्षणमा इन्धन गाडीको तुलनामा ईभीमा मोसन सिकनेसका लक्षण बढी गम्भीर देखिएको थियो। यद्यपि ईभीले नै सबै अवस्थामा बढी मोसन सिकनेस गराउँछ भन्ने निष्कर्ष निकाल्न पर्याप्त प्रमाण अझै उपलब्ध छैन।

इन्जिनको आवाज नहुनु पनि एउटा कारण

विशेषज्ञहरूका अनुसार मानिसले गाडीको गति र चाललाई इन्जिनको आवाज तथा कम्पनसँग जोडेर बुझ्ने बानी विकास गरेको हुन्छ। ईभी निकै शान्त हुने भएकाले ती श्रव्य तथा भौतिक संकेत कम हुन्छन्। गाडीको गति परिवर्तन भइरहँदा आँखाले देखेको दृश्य, भित्री कानले महसुस गरेको सन्तुलन र शरीरले अनुभव गरेको चालबीच तालमेल नमिल्दा वाकवाकी हुन सक्छ।

रिजनरेटिभ ब्रेकिङले पनि असर पार्न सक्छ

ईभीमा प्रयोग हुने रिजनरेटिभ ब्रेकिङ अर्को सम्भावित कारण हो। चालकले एक्सिलरेटर छोड्दा गाडीको मोटरले प्रतिरोध सिर्जना गरेर गाडीको गति घटाउँछ र सो प्रक्रियाबाट ऊर्जा ब्याट्रीमा भण्डारण हुन्छ।

चालकले एक्सिलरेटर अचानक छोड्दा गाडी तीव्र रूपमा सुस्त हुन सक्छ। यस्तो अवस्थामा यात्रुको शरीर अगाडि–पछाडि हल्लिएको महसुस हुन सक्छ, जसले मोसन सिकनेस बढाउन सक्छ।

ईभीले परम्परागत गाडीको तुलनामा छिटो गति लिन र गति घटाउन सक्ने भएकाले चालकको ड्राइभिङ शैलीले पनि यात्रुको अनुभवमा फरक पार्न सक्छ। सहज रूपमा एक्सिलरेसन र ब्रेकिङ नगर्दा समस्या अझ बढ्न सक्ने विशेषज्ञहरूको भनाइ छ।

कसरी कम गर्ने वाकवाकी ?

विशेषज्ञहरूले ईभीमा यात्रा गर्दा वाकवाकी कम गर्न केही उपाय सुझाएका छन्। यात्राका क्रममा मोबाइल हेर्ने वा किताब पढ्नेभन्दा अगाडिको सडकतर्फ हेर्नु उपयोगी हुन्छ। सम्भव भए अगाडिको सिटमा बस्ने, टाउकोलाई स्थिर राख्ने र सिटको हेडरेस्टमा अड्याउने सुझाव दिइएको छ।

त्यस्तै, झ्याल खोलेर ताजा हावा लिनु, पर्याप्त पानी पिउनु, पर्याप्त निद्रा लिएर यात्रा गर्नु र यात्राअघि धेरै चिल्लो खाना नखानु पनि उपयोगी हुन सक्छ। आवश्यक अवस्थामा मोसन सिकनेसको औषधि प्रयोग गर्न सकिए पनि त्यसले निद्रा लगाउन सक्ने भएकाले सावधानी अपनाउनुपर्छ।

विशेषज्ञहरूका अनुसार समयसँगै शरीर नयाँ प्रकारको गाडीको गति र चालसँग अभ्यस्त हुन सक्छ। त्यसैले ईभीमा यात्रा गर्ने क्रम बढ्दै जाँदा केही व्यक्तिमा मोसन सिकनेसको समस्या कम हुन सक्ने सम्भावना पनि रहेको छ।

सम्बन्धित समाचार