दसैँमा घर जाने यात्रुको चासो बढ्दै, अग्रिम टिकटबारे मंगलबार निर्णय

1.4k Shares

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा मंगलबार छलफल हुने भएको छ। यातायात व्यवस्था विभागले सम्बन्धित सरोकारवालालाई बोलाएर बुकिङको मिति तय गर्ने तयारी गरेको हो।

यसअघि पनि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा पटक–पटक छलफल भए पनि देशभरका प्रमुख सडकको अवस्थाका कारण ठोस निर्णय हुन सकेको थिएन। लगातारको वर्षा, बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग र ग्रामीण सडक क्षतिग्रस्त भएकाले यातायात व्यवसायीहरूले सडक सुरक्षित नभएसम्म टिकट बुकिङ खोल्न हतार गर्न नहुने धारणा राख्दै आएका छन्।

यातायात व्यवसायीहरूका अनुसार यात्रुलाई टिकट उपलब्ध गराउनु मात्र पर्याप्त नभई गन्तव्यसम्म सुरक्षित रूपमा पुर्‍याउने अवस्था सुनिश्चित गर्नु अहिलेको मुख्य चुनौती हो। विगतमा सडक अवरुद्ध हुँदा अग्रिम टिकट लिएका यात्रुहरू बाटोमै अलपत्र परेको उदाहरण रहेकाले यस वर्ष सडकको अवस्था हेरेर मात्र बुकिङ खुलाउनुपर्ने उनीहरूको भनाइ छ।

यस वर्ष विगतमा जस्तै एकैपटक १०–१५ दिनको अग्रिम टिकट खोल्ने सम्भावना कम देखिएको छ। सडकको अवस्थाअनुसार सुरुमा सीमित दिनका लागि मात्रै टिकट बुकिङ खोल्ने विकल्पमा समेत छलफल भइरहेको छ।

सरकारले भने दसैँ, तिहार र छठलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङको व्यवस्था कायम राख्ने निर्णय यसअघि नै गरिसकेको छ। यात्रुको पहिचान खुल्ने विवरणसहित टिकट जारी गर्न, सम्भव भएसम्म अनलाइन बुकिङको व्यवस्था गर्न तथा अनधिकृत काउन्टर र व्यक्तिबाट टिकट बिक्री रोक्न यातायात व्यवसायीलाई निर्देशन दिइएको छ।

सम्बन्धित समाचार