लोकदोहोरी प्रतिष्ठानको निर्वाचनमा रामकुमार नेपालीको उम्मेदवारी घोषणा

1.7k Shares

काठमाडौं । लोक तथा दोहोरी गायक रामकुमार नेपालीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय नेपालीले आफ्नो सांगीतिक यात्राका क्रममा कलाकारले भोग्दै आएका समस्या, संघर्ष र चुनौतीलाई नजिकबाट अनुभव गरेको बताएका छन्।

कलाकारका यस्ता समस्या तथा आवाजलाई संस्थागत रूपमा उठाउँदै सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले आफूले निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ।

नेपालीले प्रतिष्ठानलाई कलाकारहरूको साझा संस्थाका रूपमा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। अग्रज कलाकारको अनुभवलाई सम्मान गर्दै वर्तमान पुस्ताका आवश्यकता र नयाँ पुस्ताका सम्भावनालाई पनि संस्थाले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनले बताएका छन्।

उनले कलाकारको सम्मान र पेशागत सुरक्षाका साथै नयाँ पुस्तालाई अवसर र प्रोत्साहन, कलाकारका अधिकारको संरक्षण तथा लोक तथा दोहोरी गीत–संगीतको मौलिकताको संरक्षणलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

त्यस्तै, कलाकारका समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने र प्रतिष्ठानको संस्थागत क्षमता थप सुदृढ बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

‘मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा कलाकारको हक, हित र भविष्यसँग जोडिएको छ,’ नेपालीले भनेका छन्।

आफ्नो लामो सांगीतिक अनुभवलाई प्रतिष्ठानको हितमा उपयोग गर्दै कलाकार समुदायका साझा मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ।

निर्वाचनमा आफूलाई साथ, सहयोग र मत प्रदान गर्न प्रतिष्ठानका सदस्य तथा कलाकारहरूसँग उनले आग्रह गरेका छन्।

‘तपाईंको मत केवल उम्मेदवार छनोट गर्ने माध्यम होइन, कलाकारको हक, हित र भविष्यका पक्षमा व्यक्त हुने विश्वास पनि हो,’ नेपालीले भनेका छन्।

सम्बन्धित समाचार