अमेरिकी नागरिकमाथि यातनाको आरोप : मादुरो र पत्नीविरुद्ध थप मुद्दा चलाउने तयारी

1.2k Shares

न्युयोर्क । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसमाथि अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा अमेरिकाले थप अभियोग लगाउने तयारी गरेको छ।

सीएनएनका अनुसार मादुरोको शासनकालमा भेनेजुएलाको हिरासतमा रहेका अमेरिकी नागरिकमाथि भएको भनिएको यातनासम्बन्धी घटनालाई लिएर नयाँ अभियोग लगाउने तयारी गरिएको हो। नयाँ अभियोगबारे बिहीबार नै घोषणा हुन सक्ने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

अमेरिकी सरकारका अनुसार मादुरोको शासनकालमा एक दर्जनभन्दा बढी अमेरिकी नागरिकलाई भेनेजुएलाका जेलमा गैरकानुनी रूपमा थुनिएको थियो। अनुसन्धानकर्ताहरूले अमेरिकी नागरिकमाथि यातना दिएको घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिमाथि समेत अभियोग लगाउने विषयमा छलफल गरिरहेका छन्।

मादुरो र फ्लोरेसलाई यसअघि जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासस्थित राष्ट्रपति निवासबाट पक्राउ गरेको थियो। उनीहरूमाथि लागुऔषध आतंकवादसम्बन्धी षड्यन्त्रलगायतका अभियोग लगाइएको छ। दुवैले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरू हाल न्युयोर्कमा धरौटीबिना हिरासतमा छन्।

फ्लोरेस बिहीबार हुने सुनुवाइमा उपस्थित हुने अपेक्षा गरिएको छ। उनका वकिलले सुनुवाइअघि उनलाई घरमै नजरबन्दमा राख्न माग गर्ने तयारी गरेका छन्। मादुरोका वकिलले भने उनको गिरफ्तारीको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका छन्।

मादुरो राष्ट्रपति रहेका बेला भएका गतिविधिका आधारमा उनलाई मुद्दा चलाउन नमिल्ने र राष्ट्रप्रमुखका रूपमा उन्मुक्ति प्राप्त हुनुपर्ने उनका वकिलको तर्क छ। तर, अमेरिकी अभियोजनकर्ताहरूले भेनेजुएला सरकार स्वयंले मादुरोका तर्फबाट यस्तो उन्मुक्तिको दाबी नगरेको बताएका छन्।

अमेरिकी नागरिकले लगाए गम्भीर यातनाको आरोप

मादुरो नेतृत्वको सरकारले एक दर्जनभन्दा बढी अमेरिकी नागरिकलाई हिरासतमा राखेको थियो। अमेरिकी अधिकारी तथा मानवअधिकारकर्मीहरूले उनीहरूलाई राजनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएका थिए।

भेनेजुएलाको हिरासतबाट मुक्त भएका केही अमेरिकी नागरिकले आफूहरूमाथि भएको भनिएको यातनाबारे सार्वजनिक रूपमा बताएका छन्। सन् २०२२ अक्टोबरमा बन्दी साटासाटमार्फत रिहा भएका म्याथ्यु हिथ र उस्मान खानले आफूहरूमाथि पानीमा डुबाएर सास रोक्ने प्रयास, करेन्ट लगाउने, यौन हिंसाको धम्की दिने, मानसिक अवस्था प्रभावित पार्ने औषधि प्रयोग गर्ने तथा लामो समय एकान्त कारावासमा राख्ने गरिएको आरोप लगाएका छन्।

अमेरिकी नौसेनाका पूर्वसैनिक हिथले भेनेजुएलाको हिरासतमा रहँदा आत्महत्या गर्ने प्रयाससमेत गरेको बताइएको छ। त्यस्तै, ‘सिटगो सिक्स’ नामले चिनिने अमेरिकी तेल कम्पनीका छ जना कार्यकारीले पनि भेनेजुएलामा कठोर हिरासतको अवस्था भोग्नुपरेको बताएका छन्। उनीहरूलाई सन् २०१७ मा भेनेजुएला बोलाएर पक्राउ गरिएको थियो र करिब पाँच वर्ष हिरासतमा राखिएको थियो।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा पनि यातनाको उल्लेख

हिरासतमा रहेका अमेरिकी नागरिकलाई भेनेजुएलाको सैन्य प्रतिगुप्तचर महानिर्देशनालय (डीजीसीआईएम) मा राखिएको थियो। संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले उक्त निकायमाथि राजनीतिक विरोधी तथा उनीहरूका परिवारका सदस्यलाई मनपरी पक्राउ गर्ने, दुर्व्यवहार गर्ने र यातना दिने गरेको आरोप लगाएको थियो।

प्रतिवेदनमा बन्दीबाट सूचना तथा बयान प्राप्त गर्न, उनीहरूलाई त्रसित बनाउन र सजाय दिन विभिन्न प्रकारका यातना प्रयोग गरिएको उल्लेख छ। करेन्ट लगाउने, प्लास्टिकका झोलाले सास रोक्ने, पानीमा डुबाउने, कुटपिट गर्ने, यौन हिंसा गर्ने, खाना तथा पानी नदिने र अत्यधिक गर्मी वा चिसोमा राख्नेजस्ता अभ्याससमेत उल्लेख गरिएको छ।

मादुरो र फ्लोरेसका वकिलसँग सीएनएनले प्रतिक्रिया मागे पनि समाचार प्रकाशित हुँदासम्म उनीहरूको प्रतिक्रिया प्राप्त नभएको जनाएको छ। नयाँ अभियोग दायर भएमा उनीहरूले सामना गरिरहेको कानुनी चुनौती थप जटिल बन्ने देखिन्छ। यद्यपि, उनीहरूमाथि लगाइएका यातनासम्बन्धी आरोपको अन्तिम न्यायिक निरूपण हुन बाँकी छ।

सम्बन्धित समाचार