नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीस्थित फलाकु खोलामाथि नेपाली सेनाले निर्माण गरेको एक्रो बेलीब्रिज सञ्चालनमा आएको छ। बाढीका कारण पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क पुनःस्थापित गर्न निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा तथा यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले तीव्र गतिमा पुल निर्माणको काम अघि बढाएको थियो। प्रतिकूल भौगोलिक अवस्था र मौसमका चुनौतीबीच सेनाले पुल जडानको काम पूरा गरेको हो।
फलाकु खोलामा निर्माण गरिएको पुल करिब ७४ मिटर लामो रहेको छ। पुल सञ्चालनमा आएपछि नुवाकोटबाट रसुवातर्फ जाने यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ। यसले बाढीबाट प्रभावित सडक सञ्जाल पुनःस्थापित गर्नसमेत सहयोग पुर्याउनेछ।