त्रिशूलीको कटानले भासिएको सडक मर्मत गर्न मुग्लिन–काठमाडौं सडक रातभर बन्द हुने

1.9k Shares

धादिङ, २६ असोज । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्ड आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि थप मर्मतसम्भार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको हो ।

यसअघि क्षतिग्रस्त सडकको मर्मत गरी दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । तर, सडकलाई थप सुरक्षित बनाउन मर्मतसम्भार आवश्यक देखिएपछि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार २०८३ असोज २६ गते सोमबार राति ११ बजेदेखि असोज २७ गते मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ ।

जिल्ला प्रशासन कार्यालय धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) द्वारा जारी सूचनामा सडक बन्द हुने अवधिलाई ध्यानमा राखेर यात्राको वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ । साथै, यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पनि प्रशासनले अनुरोध गरेको छ ।

सडक बन्द हुँदा यात्रु तथा सवारीचालकलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै आवश्यक समन्वय र सहजीकरणका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

सडक मर्मतसम्भारका क्रममा यात्रामा समस्या हुन सक्ने भएकाले सम्बन्धित सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुले समय व्यवस्थापन गरी यात्रा गर्नुपर्ने देखिएको छ ।WhatsApp Image 2026-10-12 at 2.17.54 PM.jpeg

सम्बन्धित समाचार