काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ।
दुर्गा पक्षका नौ दिनमा नवदुर्गाका नौवटा स्वरूपको विशेष पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
धार्मिक मान्यताअनुसार स्कन्दमाता भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता हुन्। स्कन्दमाताको प्रतिमामा उनलाई सिंहासनमा विराजमान तथा हातमा कमलका फूल लिएकी देवीका रूपमा चित्रण गरिएको पाइन्छ। देवीको यो स्वरूपलाई मातृत्व, शक्ति र करुणाको प्रतीकका रूपमा लिने गरिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवी दुर्गाको विशेष आराधना गरी दसैँ मनाउने गर्छन्।
धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको पूजा आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यही विश्वासका आधारमा देशभरका शक्तिपीठ, देवी मन्दिर तथा घरघरमा श्रद्धालुले विधिपूर्वक पूजा, जप र पाठ गर्ने गर्छन्।
नौ दिनसम्म गरिएको पूजा आराधनापछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। यसरी नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन बडादसैँ पर्व मनाउँछन्।
पौराणिक ग्रन्थ तथा धार्मिक आख्यानमा स्कन्दमातासँग सम्बन्धित विभिन्न कथा पाइन्छन्। प्रचलित एउटा कथाअनुसार भगवान् शिव र पार्वती ऋषिहरूको सभामा पुगेका बेला सबैले उठेर उनीहरूको स्वागत गरे पनि ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्।
ऋषि उठेर स्वागत नगरेको देखेपछि पार्वती अप्रसन्न भइन् र उनलाई उँट बन्ने श्राप दिइन्। त्यसपछि सनतकुमार उँट बनेको कथामा उल्लेख छ। भगवान् शिवले भने ज्ञानी व्यक्तिलाई बाह्य परिस्थितिले उनको ब्रह्मज्ञानबाट विचलित गराउन नसक्ने भाव व्यक्त गरेको बताइन्छ।
कथाअनुसार पार्वतीले उँट बनेका सनतकुमारलाई त्यस अवस्थामा कस्तो अनुभव भइरहेको छ भनेर सोधिन्। सनतकुमारले भोक लाग्दा जङ्गलका काँडा खाएर पनि आफू ब्रह्मचिन्तनमा आनन्दित रहेको र कुनै कष्ट अनुभव नगरेको जवाफ दिए।
ऋषिको उत्तरबाट प्रभावित पार्वतीले उनको ज्ञानको महत्त्व नबुझी श्राप दिएकोमा पश्चात्ताप गरिन् र उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरिन्। त्यसपछि सनतकुमारले पार्वतीबाट जन्म लिएको र उनी स्कन्दमाताका रूपमा चिनिएको भन्ने कथा प्रचलित छ।
यस कथाले ज्ञान, धैर्य र आध्यात्मिक साधनाको महत्त्वलाई उजागर गर्ने धार्मिक व्याख्या पाइन्छ। नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा गर्नुको उद्देश्य भक्तिभावका साथ देवीको आराधना गर्दै सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्नु रहेको धार्मिक विश्वास छ।