काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ ।
दसैँको मुख्य पर्वका अवसरमा सफाइकर्मीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापनमा समस्या हुने महानगरपालिकाले जनाएको हो ।
महानगरपालिकाका अनुसार कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर छुट्टाछुट्टै राख्न अनुरोध गरिएको छ । फोहोर व्यवस्थापनमा असहज अवस्था आउन सक्ने भएकाले घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरलाई व्यवस्थित रूपमा राख्न महानगरले आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले दसैँका चार दिन उत्पादन हुने फोहोर सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थापन गर्न सबैलाई अनुरोध गरेकी छन् ।
उनले घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर जथाभावी फाल्दा सडक तथा सार्वजनिक स्थानमा फोहोर थुप्रिने र वातावरण प्रदूषित हुने भएकाले जिम्मेवार बन्न आग्रह गरेकी छन् ।
महानगरपालिकाले कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने नियमित रूपमा फोहोर व्यवस्थापन हुने जनाएको छ । त्यसैले फोहोर संकलन तथा व्यवस्थापन सेवा प्रभावित हुने अवधिमा घरमै फोहोर छुट्याएर सुरक्षित रूपमा राख्न र सार्वजनिक स्थान सफा राख्न महानगरले सबै नगरवासीलाई आग्रह गरेको छ ।