फिफा नेतृत्वमाथि प्रश्नैप्रश्न, इन्फान्टिनोको प्रस्ताव र निर्णयबारे कागजात माग

2.5k Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले संस्थाको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई दिने प्रस्ताव सार्वजनिक गर्ने क्रममा छलफल र परामर्श प्रक्रियामा गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् । तर, इङ्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले सम्बन्धित कागजात सार्वजनिक गरी उठेका प्रश्नको जवाफ नदिए इन्फान्टिनो अध्यक्ष बन्न योग्य नहुने चेतावनी दिएकी छन् ।

बिहीबार स्विट्जरल्यान्डको ज्युरिखमा बसेको फिफा काउन्सिलको बैठकमा इन्फान्टिनोले ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) योजनाबारे भएको छलफल र परामर्श प्रक्रियामा कमजोरी रहेको स्वीकार गरेका हुन् । सार्वजनिक भएको केही दिनमै फिर्ता लिइएको उक्त योजनाअन्तर्गत फिफाको व्यावसायिक अधिकारको केही हिस्सा निजी लगानी कम्पनीलाई दिने प्रस्ताव गरिएको थियो ।

इन्फान्टिनोले उक्त प्रस्ताव अन्तिम निर्णय नभएको स्पष्ट पार्दै सदस्य राष्ट्रका फुटबल संघमा थप लगानी गर्ने सम्भावना खोज्ने उद्देश्यले अघि सारिएको बताएका छन् । बैठकपछि जारी भिडियो वक्तव्यमा उनले सञ्चार तथा परामर्श प्रक्रियामा भएका गल्तीका कारण विभिन्न परिणाम उत्पन्न भएको भन्दै माफी मागे । बैठकमा उठेका प्रश्नको लिखित जवाफ उचित समयमा दिने पनि उनले बताएका छन् ।

तर, हेविटले बैठकमा एफएफईसम्बन्धी माग गरिएका कागजात र प्रश्नको जवाफ प्राप्त नभएको बताइन् । इन्फान्टिनोले ती कागजात सार्वजनिक नगर्नुको कारणसमेत स्पष्ट पार्न नसकेको उनको भनाइ छ ।

‘उहाँले ती प्रश्नको जवाफ दिनैपर्छ । यदि अहिले जवाफ दिनुहुन्न भने उहाँ फिफा अध्यक्ष बन्न योग्य हुनुहुन्न,’ हेविटले बैठकपछि भनिन् ।

उनले एफएफई योजना, अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछिको निलम्बन स्थगित गर्ने निर्णय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरिएको फिफा शान्ति पुरस्कारबारे पनि स्पष्टता आवश्यक रहेको बताइन् ।

यूईएफए पनि असन्तुष्ट

युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि एफएफई योजनालाई लिएर इन्फान्टिनोको आलोचना गर्दै आएको छ । यूईएफएले योजनासम्बन्धी सबै कागजात सार्वजनिक गर्न माग गरेको छ । यस विषयमा अमेरिकाका तीन अदालतमा दाबी पेस गरिएको बीबीसीले जनाएको छ ।

हेविटका अनुसार कागजात सार्वजनिक भएपछि मात्रै एफएफई प्रकरणमा थप कानुनी कदम आवश्यक छ वा छैन भन्ने विषयमा स्पष्ट धारणा बनाउन सकिनेछ । उनले यस प्रकरणले इन्फान्टिनोको नेतृत्वप्रति आफ्नो धारणा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।

तेस्रो कार्यकालका लागि इन्फान्टिनोको तयारी

इन्फान्टिनो आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनी सन् २०१९ र २०२३ मा निर्विरोध निर्वाचित भएका थिए ।

हालसम्म उनलाई चुनौती दिन सक्ने बलियो उम्मेदवार देखिएका छैनन् । स्विट्जरल्यान्डका पूर्वखेलाडी रामोन भेगाले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । तर, उम्मेदवारीका लागि आवश्यक पाँच सदस्य संघको समर्थन जुटाउन उनलाई कठिन हुन सक्ने आकलन गरिएको छ ।

युरोपेली फुटबलका केही वरिष्ठ अधिकारीहरूले आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरलाई उम्मेदवार बनाउन चाहेको बीबीसीले उल्लेख गरेको छ । तर, वेंगरले इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा गर्ने वा नगर्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।

फिफा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ रहेको छ । हेविटले सदस्य संघहरूले फरक योजना र दृष्टिकोण प्रस्तुत गर्ने उम्मेदवारमध्ये छनोट गर्न पाउनुपर्ने बताएकी छन् ।

बालोगुनको निलम्बन र ट्रम्पको शान्ति पुरस्कारबारे समीक्षा

फिफा काउन्सिलको बैठकमा अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछि निलम्बन स्थगित गरिएको विषय पनि उठेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित गरिएको विवरण सार्वजनिक भएको थियो ।

बीबीसीका अनुसार रातो कार्ड पाएपछि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध स्थगित गर्न नपाइने व्यवस्था गर्ने प्रस्तावसमेत फिफा काउन्सिलमा प्रस्तुत गरिएको थियो । फिफाको कानुनी समितिले यस विषयको समीक्षा गरी डिसेम्बरमा काउन्सिललाई जानकारी दिनेछ ।

त्यस्तै, ट्रम्पलाई प्रदान गरिएको फिफा शान्ति पुरस्कारबारे पनि समीक्षा गरिने भएको छ । फिफाको सामाजिक समितिले पुरस्कार प्रदान गर्ने निर्णय कसरी भयो, त्यसमा कसको भूमिका थियो र भविष्यमा पुरस्कारको व्यवस्था कायम राख्ने, सुधार गर्ने वा हटाउने भन्ने विषयमा अध्ययन गरी डिसेम्बरमा प्रतिवेदन बुझाउनेछ ।

एफएफई योजनादेखि खेलाडीको निलम्बन र शान्ति पुरस्कारसम्मका विषयमा प्रश्न उठेपछि फिफाको निर्णय प्रक्रिया, पारदर्शिता र नेतृत्वको जवाफदेहिताबारे बहस चर्किएको छ । सम्बन्धित कागजात सार्वजनिक गर्ने र उठेका प्रश्नको जवाफ दिने विषय अब इन्फान्टिनो नेतृत्वका लागि महत्त्वपूर्ण चुनौती बनेको छ ।

– बीबीसीबाट

सम्बन्धित समाचार