त्रिशूली (नुवाकोट) — भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ। ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको हो।
गत भदौ १० गतेको बाढीले पक्की पुल बगाएपछि स्थानीयवासी नदी वारपार गर्न तुइन तथा जिपलाइनको सहारा लिन बाध्य थिए। बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजारसहित नदीपारिका बस्तीका बासिन्दाले दैनिक आवतजावतमा सास्ती भोग्दै आएका थिए।
झोलुङ्गे पुल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई नदी वारपार गर्न सहज भएको छ। यसबाट राहत सामग्री ओसारपसार गर्न तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका काम अघि बढाउनसमेत सहयोग पुगेको छ।
नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सम्पन्न भएपछि स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो। पुलका दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने अझै बाँकी छन्।
प्याकुरेलले बाढीबाट क्षति पुगेपछि नदी वारपार सहज बनाउन निर्माण गरिएको यो पहिलो पुल भएको बताए। उनका अनुसार चाडपर्वको समय र बाढी प्रभावित बासिन्दाले तुइनबाट आवतजावत गर्दा भोग्नुपरेको कठिनाइ कम गर्न पुल पूर्ण रूपमा सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको हो।
उनले पुलका बाँकी काम क्रमशः सम्पन्न गर्दै जाने जानकारी दिए। पुल सञ्चालनमा आएपछि लामो समयदेखि आवतजावतमा समस्या झेल्दै आएका स्थानीयवासीलाई राहत मिलेको छ।