काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
लिग–२ को अंकतालिकामा छैटौं स्थानमा उक्लने लक्ष्य राखेको नेपालका लागि आजको खेल निर्णायक महत्वको छ। शीर्ष ६ मा पुग्न नेपालले ओमानलाई हराउनुपर्नेछ।
शृङ्खलामा राम्रो सुरुवात गरेको नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। तर, शनिबार भएको तेस्रो खेलमा क्यानडासँग हार बेहोरेपछि नेपालको शीर्ष ६ मा पुग्ने अभियानमा दबाब बढेको छ।
क्यानडासँगको जितपछि ३६ खेलबाट २९ अंक जोडेको क्यानडा अंकतालिकाको छैटौं स्थानमा पुगेको छ। ३५ खेल खेलेको नेपाल भने २८ अंकसहित सातौं स्थानमा झरेको छ। आज ओमानलाई पराजित गर्न सके नेपालले क्यानडालाई पछि पार्दै छैटौं स्थानमा उक्लने अवसर पाउनेछ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीले ओडीआई मान्यता कायम राख्ने सम्भावना बलियो बनाउने भएकाले पनि नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ। त्यसैले नेपाल आज ओमानलाई हराउँदै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।