काठमाडौं । यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरलाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
यमनी सेनाका दुई अधिकारीका अनुसार इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार दक्षिणी प्रान्त शबवास्थित ‘अल–आलम’ सैन्य शिविरमा ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए। सञ्चारमाध्यमलाई जानकारी दिन आधिकारिक अनुमति नपाएका कारण ती अधिकारीहरूले नाम गोप्य राख्ने सर्तमा घटनाबारे जानकारी दिएका हुन्।
पछिल्ला दिनमा यमनमा बढ्दै गएको हिंसात्मक घटनामध्ये यो आक्रमण पनि घातक घटनाका रूपमा देखिएको छ। इरान र अमेरिकाबीचको व्यापक द्वन्द्वसँगै क्षेत्रीय तनाव बढिरहेका बेला यमनमा समेत केही महिनायता लडाइँ तीव्र बनेको छ।
हुथी विद्रोही र साउदी अरब समर्थित सरकारी सेनाबीच बढ्दो तनावले सन् २०२२ मा भएको युद्धविरामसमेत कमजोर बनाएको छ। उक्त युद्धविरामले यमनको लामो समयदेखि जारी गृहयुद्धमा लडाइँलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सहयोग गरेको थियो।
यसैबीच, हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार साउदी नेतृत्वको गठबन्धनले उत्तरी प्रान्त सादामा गरेको भनिएको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेका छन्।
हुथी विद्रोहीका अनुसार सप्ताहान्तमा भएका अन्य यस्तै आक्रमणमा परी ३० जनाभन्दा बढी मानिसको मृत्यु भएको वा घाइते भएका छन्। यद्यपि, यी घटनासम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि भएको जानकारी उपलब्ध छैन।
घटनाबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको बढ्दो तनावले युद्धविरामको स्थायित्व र सर्वसाधारणको सुरक्षामाथि थप चुनौती खडा गरेको छ।