काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप रणनीतिक हतियार तैनाथ गर्ने र लाउडस्पीकरमार्फत प्रचार प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएको छ। सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट र सैनिक गतिविधिलाई लिएर तनाव बढिरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले सोमबार यस्तो चेतावनी दिएकी हुन्।
दक्षिण कोरियाले गत सेप्टेम्बर २१ मा भएको बारुदी सुरुङ विस्फोटमा उत्तर कोरिया जिम्मेवार रहेको आरोप लगाउँदै माफी माग्न र अन्य सुरुङ हटाउन आग्रह गरेको थियो। तर, उत्तर कोरियाले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
किम यो जोङले दक्षिण कोरियाली सेनाले अगस्टदेखि सीमा पार गर्ने उत्तर कोरियाली सैनिकमाथि चेतावनीस्वरूप गोली चलाउने र प्रचार प्रसारण गर्ने गरेको आरोप लगाइन्। उनले सीमामा उत्पन्न हुन सक्ने घटनाको सामना गर्न थप रणनीतिक हतियार तैनाथ गर्नेबारे विचार भइरहेको बताइन्।
दक्षिण कोरियाका संयुक्त सेना प्रमुख जिन योङ–सुङले उत्तर कोरियाको चेतावनीलाई अस्वीकार्य भन्दै सम्भावित उक्साहटको कडा जवाफ दिन निर्देशन दिएका छन्। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाली सैनिकले यस वर्ष सीमामा किल्लाबन्दी निर्माण गर्ने क्रममा ५० पटक सीमा रेखा उल्लङ्घन गरेका छन्।
उत्तर कोरियाले पछिल्ला वर्षमा सीमावर्ती क्षेत्रमा बारुदी सुरुङ बिछ्याउने, काँडेतार लगाउने तथा ट्याङ्कविरोधी अवरोधसहितका सैन्य संरचना निर्माण गर्ने कार्यलाई तीव्र बनाउँदै आएको छ।
सन् २०१५ मा बारुदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका दुई सैनिक घाइते भएपछि सीमापार लाउडस्पीकरमार्फत प्रचार प्रसारण सुरु गरिएको थियो। त्यसयता दुवै देशले यस्तो प्रसारणलाई मनोवैज्ञानिक युद्धको माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले सम्बन्ध सुधार्ने प्रयासस्वरूप गत वर्ष सीमापार प्रचार प्रसारण बन्द गरेका थिए। त्यसपछि उत्तर कोरियाले पनि आफ्ना प्रसारण रोकेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग कूटनीतिक संवाद पुनः सुरु गर्ने प्रयास गरिरहेका बेला पछिल्लो सीमा तनावले दुई कोरियाबीचको सम्बन्ध सुधारमा थप चुनौती थपेको छ।