सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते, चालक फरार

953 Shares

कालीकोट । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी सोमबार बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी मध्यम घाइते भएका छन्। उनीहरूको टाउको तथा हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते तिमल्सिनालाई थप उपचारका लागि बिहान ११ः३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा पठाइएको छ।

दुर्घटनामा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा र २० वर्षीया शारदा टमटा, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक तथा कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

अन्य १० जना सकुशल

दुर्घटनाग्रस्त गाडीमा सवार अन्य १० जना यात्रु सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार गाडी अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए। गाडी अनियन्त्रित भई सडकमा पल्टिएपछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट दुई जना र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक बुद्धिसागर चौधरीको कमान्डमा ट्राफिकसहित छ जनाको टोली घटनास्थलमा खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार