काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन तथा चालकलाई कारबाही गरिएको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२ चालक कारबाहीमा परेका छन् । त्यस्तै, सीसी क्यामरामार्फत ३९ र ट्राफिक बत्तीमा रातो बत्ती बलिरहेका बेला सवारी चलाउने २० चालकलाई कारबाही गरिएको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने ५७, अनावश्यक रूपमा हर्न बजाउने आठ तथा लेन अनुशासन उल्लङ्घन गर्ने तीन सवारीसाधनमाथि कारबाही गरिएको छ ।
यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको पालना सुनिश्चित गर्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ ।