तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु र ३२ जना गम्भीर घाइते

498 Shares

काठमाडौँ । चीनको स्वायत्त क्षेत्र तिब्बतमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय क्षति भएको छ। भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ३२ जना गम्भीर घाइते भएका छन्।

दुर्गम भौगोलिक बनावट रहेको प्रभावित क्षेत्रमा भूकम्पले जनजीवन प्रभावित बनाएको छ। अचानक गएको शक्तिशाली भूकम्पपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने उद्धार तथा क्षतिको विवरण सङ्कलनमा चुनौती देखिएको छ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वा र राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार मुख्य भूकम्पपछि प्रभावित क्षेत्र तथा आसपासका भूभागमा लगातार परकम्पहरू गइरहेका छन्। केन्द्रको अभिलेखअनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को मध्यरात १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीनका अन्य क्षेत्र र म्यानमारमा गरी कुल १८ वटा भूकम्पीय घटना रेकर्ड भएका छन्।

मुख्य भूकम्पपछि आएका परकम्पले प्रभावित क्षेत्रका बासिन्दामा थप त्रास सिर्जना गरेको छ। भौगोलिक कठिनाइका कारण प्रभावित क्षेत्रका सबै स्थानमा पुग्न कठिन भएकाले मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।

भूकम्पबाट प्रभावित नागरिकको अवस्था, क्षतिको वास्तविक परिमाण र उद्धार कार्यको प्रगतिबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार