काठमाडौँ । देशभर आगामी साताको अन्त्यतिर मौसममा उल्लेख्य परिवर्तन आउने पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात तथा पहाडी र तराईका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।
मौसमविद्का अनुसार साताको सुरु र मध्यतिर पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ। त्यस अवधिमा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि साताको अन्त्यतिर बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण मौसम थप प्रभावित हुने अनुमान गरिएको छ।
साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुने सम्भावना छ। ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने विभागले जनाएको छ। साताको सुरु र मध्यतिर भने हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनेछ।
पहाडी भूभागमा साताको सुरु र मध्यतिर हल्का वर्षा हुन सक्नेछ। साताको अन्त्यमा भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
अन्य पहाडी क्षेत्रमा समेत मध्यम वर्षाको सम्भावना रहेकाले मौसमको अवस्थाबारे नियमित जानकारी लिन आवश्यक देखिएको छ।
तराई क्षेत्रमा साताको सुरु र मध्यतिर वर्षाको सम्भावना नरहे पनि साताको अन्त्यमा विभिन्न प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने थोरै स्थान तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम प्रणालीमा आउने परिवर्तनसँगै आगामी साता देशका विभिन्न भूभागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने मौसम विज्ञान विभागले जनाएको छ।
सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रा गर्नेहरूले मौसम पूर्वानुमान र विभागबाट जारी हुने सूचनामा ध्यान दिनु आवश्यक छ।