भारततर्फ विद्युत् निर्यातबाट असोजमा पौने ६ अर्ब आम्दानी

1.3k Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरी पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। गत वर्षको असोज र चालु आवको भदौ महिनाको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि असोजमा विद्युत् बिक्रीबाट प्राप्त कारोबार रकम वृद्धि भएको छ।

प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो। उक्त विद्युत् बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

गत वर्षको असोजमा भारततर्फ विद्युत् निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसैगरी, चालु आवको भदौमा पाँच अर्ब नौ करोड २५ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो। यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढी कारोबार भएको छ।

चालु आवको साउन, भदौ र असोज गरी पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।

द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत बिक्री

असोज महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत बिक्री गरिएको थियो।

द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिँदै आएको छ। त्यसबाहेक भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री हुँदै आएको छ।

प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारत तथा बङ्गलादेशमा निर्यात गर्दै आएको छ। मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ।

बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु

नेपालबाट भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा बाढी आएपछि बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेको थियो। त्यसपछि बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य आयोजनाको विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु गरिएको हो। नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।

नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरिँदै आएको छ।

भारततर्फ निर्यात अनुमति एक हजार १७९ मेगावाट पुग्यो

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीका कारण केही आयोजनाको उत्पादन प्रभावित भए पनि वैकल्पिक आयोजनाबाट विद्युत् निर्यात गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार