काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेटप्रेमीको चहलपहल बढ्न थालेको छ। प्रतियोगिता हेर्न र आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न दर्शकहरू मैदान पुग्न थालेका छन्।
एनपीएललाई लक्षित गर्दै कीर्तिपुर क्रिकेट मैदान तथा आसपासका क्षेत्रमा विशेष तयारी गरिएको छ। मैदान जाने सडकमा विभिन्न फ्रेन्चाइजी टोलीका खेलाडीका तस्बिरसहितका प्रचार सामग्री र स्वागतद्वार राखिएका छन्। दर्शकलाई सहज बनाउन छुट्टाछुट्टै प्रवेशद्वार, सूचना बोर्ड तथा व्यवस्थित बसाइको व्यवस्था गरिएको छ।
यस संस्करणमा दर्शकको अनुभवलाई थप सहज र रोमाञ्चक बनाउन मैदानको पूर्वाधारमा समेत सुधार गरिएको छ। दर्शकदीर्घामा सिट क्षमता थपिएको छ भने छानासहितको प्यारापिट, एलईडी स्कोरबोर्ड, परिवारका लागि छुट्टै क्षेत्र र अन्य सुविधाको व्यवस्था गरिएको छ।
एनपीएलको तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। नेपाली खेलाडीसँगै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिताले प्रतियोगिताप्रति दर्शकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै खेल पर्यटन र आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।